नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?
काठमाडौं – विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरै जनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ ।
यो संख्या गत वर्षको तुलनामा तेब्बर हो । विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति मृत्युदर हुने बताएका थिए । नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भए पनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिने विज्ञको भनाइ छ ।
कोभिडको नयाँ भेरियन्टले छिटो निमोनिया बनाउँछ । निमोनिया भएका बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिन्छ, जसको अभावमा नेपालमा मृत्युदर बढेको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार एकैपटक धेरैलाई संक्रमण हुँदा उपचार अभावले मृत्युदर बढेको हो ।
कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशतलाई कुनै समस्या हुँदैन, १५ प्रतिशत सामान्य उपचारले निको हुन्छन् भने बाँकी ५ प्रतिशतलाई आइसियु र भेन्टिलेटर चाहिन्छ । यो गम्भीर समूहका बिरामीका लागि समयमै अस्पतालमा पर्याप्त कोभिड वार्ड र आइसियु भएको भए मृत्यु संख्या कम हुने विशेषज्ञको आकलन छ ।
डा. बम भन्छन् , ‘बिरामीले समयमै भर्ना नपाउँदा केही दिनमै निमोनिया बढ्छ, यस्तो अवस्थामा बिरामीलाई आइसियुमा राखेर निमोनियाविरुद्धका औषधि चलाउनुपर्छ तर समयमै अस्पतालमा भर्ना नपाउँदा निमोनिया छिप्पिसकेको हुन्छ अनि ज्यान जान्छ ।’ नागरिक दैनिक