काठमाडाैं उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलिसम्म


काठमाडाैं – काठमाडाैं उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलि साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान पालिकाको माग भएपछि हिजोदेखि थप तीन दिनसम्म सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागले जनाएको हो ।

बालबालिकालाई मुखबाट खुवाइने ‘ओपिभी’ खोप खुवाउन थालिएको हो । टुकुचा खोला र बाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडाैं उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

झण्डै दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य लिए पनि दुई लाख ८४ हजार छ सय ३४ बालबालिकालाई खोप खुवाइएको विभागले जनाएको छ । पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाइँदै छ ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो रोग लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र ज्यान समेत जाने जोखिम हुन्छ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया