चितवन मेडिकल कलेज र मध्यनेपाल नगरपालिकाबीच सम्झौता


काठमाडाैं – चितवनको चितवन मेडिकल कलेज (सिएमसी) र लमजुङको मध्यनेपाल नगरपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सझौता भएको छ । नगरभित्रका विरामीको उपचार छुटसहित अस्पताल र नगरपालिकाबीच बुधबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा मध्यनेपालका नगरप्रमुख रमेशकुमार पाण्डे र अस्पतालका निर्देशक डा. दयाराम दाहालले हस्ताक्षर गरेका छन् । अस्पताल र नगरपालिकाबीच गुणस्तरीय स्वास्थ्य सेवा, औषधी खरिद तथा प्राविधिक शिक्षाका लागिसमेत छुट हुने गरी सम्झौता भएको छ । सम्झौता भदौ १ गतेदेखि २०८४ साउन मसान्तसम्म लागू हुने छ ।

सम्झौता अनुसार अस्पतालले मध्यनेपाल नगरपालिकाका नागरिकलाई उपचार सेवामा २० प्रतिशत छुट दिनेछ । अस्पतालको फार्मेसीबाट औषधी खरिद गर्दा ७ प्रतिशत रकम छुट हुनेछ । सिधै खरिद गरिएका कुनै पनि सामानमा भने छुट हुने छैन । अस्पतालको ओपीडी टिकट र इमर्जेन्सी टिकटमा पनि छुट हुने सम्झौतामा उल्लेख छ ।

नगर प्रमुखको सिफारिसमा अस्पतालले सेवाहरुमा १० प्रतिशत छुट र चितवनको सीएमसी क्यान्सर इन्टिच्युटमा सञ्चालित सीटीइभीटीको पढाईमा १० प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ । उपचारका लागि नगरपालिकाले नगरवासीको नाम र विवरण वेभसाइटमा राख्ने र उक्त कार्य नसकुञ्जेल नगरपालिकाको सिफारिसमा छुट सेवा उपलब्ध हुनेछ ।

मध्यनेपालका विरामीले उक्त अस्पतालमा उपचार गर्दा कुनै पनि बिमा र विशेष अवस्थामा छुट दावी गर्न भने पाउने छैन । दावी गर्न वा कागजपत्र माग गर्न प्राप्त छुट बराबरको रकम सम्बन्धित बिरामीको नामबाट बुझाएमा मात्र अस्पतालले आवश्यक कागजपत्रहरु उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । अस्पतालले उपचार गराएको विरामीको छुट सेवाको सिफारिस बमोजिमको रकम नगरपालिकाले अस्पताललाई भुक्तानी गर्नेछ ।

यस्तै, अस्पतालले नगरपालिकाको विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने, निःशुल्क स्वास्थ्य शिविरका लागि नगरपालिकाले यातायात, औषधी र खानेवस्ने लगायत व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्लेख छ ।

नगरप्रमुख पाण्डेले नगरबासीको स्वास्थ्यलाई मध्यनजर राखी उपचारमा सहज र सहुलियत होस भनी दोहोरो सम्झौता गरिएको जानकारी दिए । उनले सिएमसी अस्पतालमा उपचार गर्न जान चाहने नगरबासीहरुलाई नगरपालिकामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

सम्झौताको पूर्णपाठ:

प्रतिक्रिया