अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी…

तरवार ठूलो कि कलम !


काठमाडाैं – विद्यालयमा वादविवाद प्रतियोगिताका लागि एउटा प्रख्यात विषय हो तरवार ठूलो कि कलम ! यो विषय मान्यतामा मात्रै सिमित नहोस् भन्ने सोचेरे कलम (हाल कम्प्युटरको किबोर्ड) चलाउँदै छु ।

करिब तीन शताव्दी अघि यही तरवार चलाएरै तत्कालीन् श्री ५ महाराजधिरज पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरे । हो एकीकरणका लागि उनी एक्लै थिएनन् । थिए उनको सेनाको फाैज, भक्ति थापा, बलभद्र कुँवर, कालु पाँडे लगायत । उनीहरु राजाको आदेश अनुसार निरन्तर बहादुरीका साथ लड्ने, भिड्ने गरे ।

जति टुक्रा राज्यमाथि विजयी हासिल गरे उनीहरु त खुसी अवस्य भए होलान् तर हार खेपेका उनीहरुलाई  त नयाँ नेतृत्व स्वीकार गर्न गाह्रो नै भएको थियो होला । जुन नेतृत्व राष्ट्र एकीकरण नै गर्न लागेको किन नहोस् !

त्यसैले शाहको व्यक्तिगत चरित्रमाथि नै धेरै टीकाटिप्पणी र विरोध गर्नेहरु समाजमा कहिलेकाहीँ देखिन्छ । कतिपयले उनलाई साम्राज्यवादको नाइके र विस्तारवादी निरङ्कुश शासक भनेका छन् भने जातीय शासनलाई भताभुङ्ग पारेको पनि कतिपयको आरोप छ । एकीकरणको लडाइँ उनको पालादेखि नै विभिन्न जाती जनजातिले राज्य गुमाएको पनि भनिएको छ ।

अग्रेजले प्रकाशित गरेका सन्दर्भ सामग्रीका आधारमा हेर्दा शाहले नेपाललाई ‘असली हिन्दुस्तान’ बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारेमा विभिन्न दृष्टिकोण हुन सक्छन् । यदि शाहको नेपाललाई एकीकरण गर्ने महत्त्वाकाङ्क्षी अभिलाषा नभएको भए अहिलेको विशाल आधुनिक नेपालको परिकल्पना सम्म हुन् सक्ने थिएन।

उनले नेपाललाई कतै जातीय आडम्बरी र हिन्दु राज्य शासन व्यवस्था बनाउन खोजेको इतिहासले देखाउँदैन । उनले कसैसँग जातीय लडाइँ लडेका पनि थिएनन् । राष्ट्र एकीकरणको वृत्तान्तमा आस्था र विश्वास धेरै महत्त्वपूर्ण हुन्छन् ।

पृथ्वी नारायण शाहको राज्य एकीकरण प्रक्रिया सफल भयो । शाहले बाइसे चौबिसे टुक्रा राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपालको जग बसालेका थिए। त्यसैले अहिले हामी नेपाल हाम्रो देश भनेर गर्व गर्न सक्छाैँ । शाहको बुद्धिमतापूर्ण नेतृत्वका कारण तत्कालीन टुक्रा राज्यका राजा र जनताले हारपनि सहर्ष स्वीकार गरे । गोरखा राज्यमा जन्मिएका उनी नेपालका राष्ट्रपिता बने । यो हाम्राे दरिलो इतिहास हो । जसले तरवारको पनि महत्व बोकेको छ ।

विश्वमा प्राचीन र स्वाधीनको अस्तित्व बोकेको मुलुक हो नेपाल । हालको परिस्थिति हेर्ने हो भने यो इतिहासमा मात्र सिमित नरहला भन्न सकिने अवस्था छैन । न समाउने हाँगो न टेक्ने डालो भने जस्तो अवस्थामा हामी पुगेका छाैँ । कलमको युगमा पुगेका हामी विचार गर्ने समय आएको छ – कतै अझै ढुङ्गे युगकै सोँचमा त छैनाैँ !

पृथ्वी नारायण शाहले किन एकीकरण गरे !

आज भन्दा २ सय ७७ वर्ष पहिले विक्रम संवत् १७९९ साल चैत्र २५ गते, राम नवमीका दिन राष्टपिता पृथ्वी नारायण शाहले २० वर्षको उमेरमा गोरखाको राज्यारोहण गरेका थिए । लिखित कानुनी व्यवस्था नभए पनि मानवीय संवेदनाका आधारमा राज्य सत्ता सञ्चालन तथा राज्य एकीकरण गरेको इतिहास साक्षी छ ।

तर नेपालमा करिब दुई दशक लामो राजनीति अस्थीरताका कारण नेपालीहरु विकल्प खोजिरहेका छन् । पर्खिरहेका छन् सच्चा देशभक्तको जन्म कहिले होला भनेर उत्साहित हुन्छन्, निर्वाचन हुन्छ, नयाँ सरकार बन्छ । तर राज्य सत्ता हाता लिएकाहरु संघीयता र प्रदेशको नाममा देश फेरि टुक्राउने खेल खेलिरहेका छन् । अहिले नेपालको राजनीतिक अवस्था हेर्दा लाग्छ, पृथ्वी नारायण शाहले किन एकीकरण गरे !

आक्रान्त नेपालको पूर्व

जातीय पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै नेपालको पुर्वी क्षेत्र आक्रान्त छ । यस्तो अवस्था देख्दा लाग्छ के सच्चा नेपालीको ज्ञान र विबेक यति मात्र हो त ? के कुनै राजनीतिक दलमा आबद्ध नभएको स्वतन्त्र नागरिक पनि यही चाहन्छ ?

यो मननीय विषय हो । देशमा संघीयता लागू भएपछि अन्य ६ प्रदेशमा पनि यस्ता आवाज नसुनिएको होइन । त्यहाँ सुजबुजका साथ प्रदेश नामकरण गरियो । तर संघीयता लागू भएको यतिका समयसम्म पनि पूर्वले नाम पाउन सकेको छैन ।

के प्रदेश नम्वर १ मा मात्रै जातीय र धार्मिक  अस्तित्व छ र ? पूर्वको मात्रै भिन्नै र अलग पहिचान छ र ? पूर्वले जस्तै नेपालका हरेक क्षेत्रका जनताले देशमा निहूँ नै खोज्ने भने के हुन्छ ? के नेपालको अस्तित्व कहाँ पुग्छ ? आक्रान्त नेपालको पूर्वलाई हेर्न हो भने केही व्यक्तिलाई राजा बन्न हतार परेको पो हो कि नभन्न पनि सकिदैँन । किनकी यहाँको अवस्थाले यस्तै दर्शाएको छ ।

नेपालमा जातीय र साप्रदायिक हिंसा भड्काउन खोज्ने गिरोह सक्रिय भएको धेरै भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । त्यसकै उपज पूर्व तनावमा छ, अवस्था हेर्दा जो केहीले पनि सहजै अनुमान गर्न सक्छ । माैका मिल्ने वित्तिकै यस्ता घटना घटाएका छन् । सर्वसाधारण सोझा देशप्रेमी जनताको भावनासँग खेलेर उनीहरुलाई ज्यानको बलि चढाउन उक्साइएको छ ।

अहिले पूर्वमा जनता भेडासरी दाैडिरहेका छन् । (प्रतिनिधि सभा निर्वाचन, २०७९ मा शेरबहादुर देउवा विजयी भएपछि सुदुरपश्चिमका जनतालाई भेडाको संज्ञा दिइएको थियो ।) साँच्चै उनीहरु किन र कसको पछि लागेर दाैडिरहेका छन् भन्ने विषयमा सोँच्न सक्ने भए यस्तो अवस्था आउने नै थिएन ।

के साँच्चै पूर्वी क्षेत्रका जनताले नै जातीय पहिचानका लागि नै प्रदेशको नाम चाहेका हुन् त !

भनाइ नै छ नि – ‘आखिर नाममा के छ ? वास्तविक पहिचान त कामले नै गर्छ ।’ तर यहाँ भने नाममै ‘किचलो’ भइरहेको छ । संविधान जारी भएको आठ वर्ष पुग्नै लाग्यो। बल्ल प्रदेशको नामकरण त गरियो तर अझै यसले पूर्ण समर्थन पाएको छैन ।

हिजो सभ्यतासहित इतिहासको आधारमा प्रदेशको माग थियो तर आज धार्मिक बनाइयो, अब छुट्टै राज्यको माग हुनै खतरा बढेको विज्ञहरु बताउछन् । यसरी हेर्दा पूर्वको नामाकरणलाई राजनीति गर्ने एउटा विषय मात्रै बनाइएको हो भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

यहाँ भारतीय बहुज्ञ डा. भीमराव आंबेडकरको एउटा भनाइ नेपालीमा उल्था गर्न सान्दर्भिक छ । उनले भनेका छन् – जब पढे लेखेका मानिसहरु पनि गलत कुरा/विचारको समर्थन गर्न लागे भने यो समाजको सबैभन्दा ठूलो समस्या हो ।

प्रदेश १ नामाकरणको विरोध वा समर्थन गर्दै गर्दा अहिलेको पुस्ताले हाम्रो इतिहास बिर्सेको त होइन ! के फेरि नेपाल टुक्राउन र अशान्ति मच्चाउन खोजिएको त होइन ? समयमै विचार गराैँ, हामी कता तिर जाँदै छाैँ ।

यो पनि पढ्नुहोस्-

प्रदेश नामकरणको विरोधमा मन्त्रीको घरमा तोडफोड

प्रतिक्रिया