पिआर छोरालाई एउटी आमाको चिठी

'जन्मेर कोखमा कसैको, हुर्कन्छ काँखमा कसैको'


प्यारो छोरा आर्शिवाद !

लामो समयदेखि तिम्रै फोन कुरिरहे तर खै ! न मेरो फोन नै विग्रेको छ कि, दिनरात संगै लिएर हिड्छु र पनि बजेन छोरा । तिमीले बिर्सिएउ होला तिम्रो पिताले कारगिलमा विरगति पाएपछि मैले गाँउलेहरुबाट पाएको पदवी अलच्छिनी बोक्सी  पुस्ताै सर्दैछ । न कोही आउछन् मेरो घरमा न कोही बोल्छन् छोरा !

धन्न म जस्तै भाग्यले हरेकी यो सिरान घरकि बुहारी छ  र दुःख सुख साटेकी छु । उसैको सहारा लिँदै यो पत्र कोर्न लाएकी हुँ । तिमी, बुहारी र  नाति नातिना सबै सञ्चै छाै होला । खास त्यस्तो त केही थिएन, आज तिम्रो जन्मदिन साह्रै सम्झिएँ । फोन चोलाको गोजीमै राखेर दिन वित्यो बजेन राजा । यो दिन म मरेपनि मेरो छोरा बाँचोस् है भगवान भनेर जुम्ला हात जोडेको दिन हो बावु । तिमीलाई आत्मैदेखि जन्मदिनको शुभकामना सधै खुशी रहनू ।

तिमी गर्भमा आएदेखि कारगिल युद्द चल्ने भो भनेर विदा नसकिँदै तिम्रो पिता फर्कनु भो घरबाट छुट्टिएको वर्ष दःख पाउनेको छोरी म तिमीलाई यो धर्तीमा पाइला टेकाउन सक्दिन कि भनेर लामो सुस्केरा हाल्थे । भगवान सम्झेर रातहरु वित्थे छोरा, पेट छाम्थे कारगिलमा भएको पति सम्झिन्थे, दिनभरि त कामले बिर्सिन्थेँ सायद !

आफू बस्ने बेला भइसक्यो तिम्रा पिताको बाटो हेर्दाहेर्दै आँखाबाट बाटोहरु हराउथे तर अहँ । नवाैँ महिना लागेपछि चिठी आयो लडाँइ साम्य नभई विदा नमिल्ने भयो, दुःख सुख चलाउनु । विदा मिल्ने वित्तिकै घर आउने कोशिस् गर्नेछु । म भित्रभित्रै हारेको थिए छोरा । तर पनि तिमी भित्रै उफ्रेको देख्दा राख्थेँ भगवानले हेर्नुहोला, दिन वित्दै गए,,, कति दुःख, कति विपत् आए यो जिन्दगीमा छोरा तर सबै पार लगाए तिम्रै लागि भनेर नै बाँचे।

तिमी यस धर्तीमा आएदेखि हरेक सास, हरपल तिम्रो भलो चाहेर मेरो क्षमताले भ्याएसम्म दुःख गरेको छु छोरा । तिमीले चालेका हरेक पाइलामा साथ दिन्छु भनेर आँफैसंग गरेका अठोटहरु सम्झिँदै म यहीँ दुःख सुख जीवन चलाउँदैछु । म आफूले सकिन्जेल मेरा हातखुट्टा र जिउ ज्यानले साथ दिएसम्म गरिनै रहन्छु । पिता पुर्खाले सिकाए अनुसार भए पनि मेरा दश नंग्रा खिचाएर बस्छु । तिमी मेरो चिन्ता नलिनु छोरा । तिमीलार्इ देख्न मन त कति छ कति । आफ्नै वरपरि भइदिए म सधैँ यसरी मन जलाएर बस्नु पर्दैनथ्यो । यो मन त कल्पिन्छ छोरा । चाडपर्व पनि आउँछ निन्द्रा पर्दैन, छाती चर्किन्छ अनि तिम्रै चिन्ता लाग्छ, छोरा । चाडपर्व आउँछ आफ्नै देशमा छोराछोरी हुनेका त घर आउँछन् ।

समाचार सुन्छु, देशको अवस्था पनि उस्तै छ, छोरा । तिम्रो उज्जवल भविष्यको लागि मैले मेरो मुटुमा किलो ठोकेर गाँठो पारेँ छोरा मायाको डोरो, गाँठै पारेर बसेको छु । गाँउमा आउँदा कोही कसैले तिमीलार्इ मोवाइल र फेसबुकमा देखेको थिए भन्छन् । मलाई पनि देखाइदेउन कस्तो भएछ मेरो छोरो भन्न मन लाग्छ तर सक्दिन । आफूले फोन चलाउन जान्दिन, कसलाई के भन्नु यही कुरा मनमा खेलाएर मन भुलाउन माटो कोपार्न  जान्छु । नंग्रा खियाउँछु वन जंगलतिर हेरेर मन बुझाउँछु । समाचार सुन्छु, दिनहुँ हजाराैं युवाहरु विदेशीएको खवर आउँछ । आफ्नै छोरा विदेशीए झै लाग्छ मन भक्कानिन्छ । अनि ती सन्तानका आमाहरुलाई सम्झिन्छु, कस्तो अभागी आमा रहेछाैं हामी भनेर मनैबाट धिक्कार्छु आफैँलाई छोरा ।

जन्मेर कोखमा कसैको, हुर्कन्छ काँखमा कसैको !
भाग्यको लेखा कस्तो, भावीले के लेखिदियो !!

अन्तमा, अरु के नै भनाैँ र लेखान्त नै होला छोरा विधिले लेखेको । तिमी नेपालमा जन्म त लिएउ तर जीवन चलाउन विदेश नगइ भएन भविष्य केही उज्जल बनाउने चाहनामा । तिम्रा सबै सपना चाँडै पूरा होउन्, भगवान सधैँ दाहिन रहूँन् । पत्र पाएपछि समय मिलाएर आमालाई फोन गर्न नविर्सिनू, चाँडै भेट हुने आशा लिएर बसेको छु । बाँकी कुरा भेटमा गराैँला ।

उही तिम्री अभागी आमा ।

प्रतिक्रिया