टिकापुरमा डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
कैलाली – लामखुट्टेको टोकाइबाट हुने डेँङ्गु लगायतका किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि कैलालीको टिकापुर नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ।
देशका ७५ जिल्लामा डेंगुका बिरामी भेटिएपछि नियन्त्रणको उपाय अपनाउन अभियान नै चलाइएको हो । सातै प्रदेशका स्वास्थ्य निर्देशनालय, सबै पालिकालाई नियन्त्रणका लागि अभियान सञ्चालन गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्देशन दिएको छ।
नगरपालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो । डेँङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको छ ।
डेँङ्गु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएको छ।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ।पछिल्लो समय जनघनत्व बढी भएको सहरमा डेँङ्गुका बिरामी बढिरहेका छन् । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेँङ्गुको सङ्क्रमण फैलिने गर्छ ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेँङ्गुको बिरामी फेला परेको थियो । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेँङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेँङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन्।