विद्यालयको छात्रावासमा विद्यार्थीको मृत्यु, आफन्त आन्दोलित


जनकपुरधाम – सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्युलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडक खण्ड अवरुद्ध भएको छ ।

धनुषाको लक्ष्मीनियाँ-४ का गणेश कुमार साहका अन्दाजी १५ वर्षीय छोरा रजनिश कुमार साहको विद्यालयमै योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै उनका आफन्त र गाउँले आन्दोलित बनेका हुन् । उनीहरूले लक्ष्मीनियाँ-४ मै पर्ने सपहीस्थित जनकपुर-ढल्केबर सडक अवरुद्ध पारेका छन् ।

सडकमा सयौं महिला र पुरुष धर्ना बसेका छन् । उनीहरूले रजनिशलाई न्याय देऊ, हत्यारालाई कारबाही गर, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाइरहेका छन् । सडक अवरुद्ध पारेपछि त्यहाँ ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी पुगेको छ ।

विद्यालयका अनुसार भदौ २ गते कक्षा ८ मा अध्ययनरत रजनिश होस्टलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको थिए । पासो काटेर उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा ६ दिनपछि उनको मृत्यु भएको थियो ।

मृतक विद्यार्थी रजनिशका परिवारले विद्यालयकै संस्थापक, होस्टेल इन्चार्ज, प्रधानाध्यापकसहितले हत्या गरेको आरोप लगाएका छन् । घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि उजुरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुली पुग्दा वास्ता नगरेको मृतक रजनिशका बुबाको भनाइ छ ।

प्रतिक्रिया