हवाइ उडान कम हुँदा भोजपुरका यात्रु मारमा


भोजपुर – भोजपुरको टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्रे भएको छ । सदरमुकामबाट भोजपुर नगरपालिका-१२ मा रहेको विमानस्थल पुग्ने सडक पनि कालोपत्रे भइसके पनि उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ ।

विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । एक समय यहाँबाट विराटनगरसमेत उडान हुने विमानस्थलमा हाल भोजपुर-काठमाडौं हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कमी नभए पनि उडानमा भने समस्या छ ।

‘केन्द्रबाट पठाएको तालिका अनुसार उडान भर्नुपर्ने हुन्छ’, हाल सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताए ।

स्थानीयका अनुसार, विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दै आइरहेका छन ।

टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा पाँच करोड ४५ लाख रुपैँया लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ ।

प्रतिक्रिया