कोशीका पूर्वमुख्यमन्त्री कार्की आमरण अनशन बस्दै


काठमाडाैं – ​​​​कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज (मंगलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने भएका छन् । विराटनगरमा (हिजो) सोमबार पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा बिनानै उनले प्रदेशसभा भवन अगाडि आमरण अनशन बस्ने घोषणा गरेका थिए । आफ्नो आमरण अनशनमा सबै दलको समर्थन गर्ने उनको दाबी छ ।

उनले आफ्ना माग पूरा नहुँदासम्म अनशन छोडेर नहिँड्ने बताएका थिए । ‘म मर्छु बरु अनशन बीचमा छोडेर हिँड्दिनँ,’ उनले भने । कतिपय आफ्ना समर्थकहरूले रिले अनशन, आमरण अनशन बस्छु भनेर प्रस्ताव आइरहेको पनि बताए । केही सामाजिक अभियन्ताको पनि आमरण अनशनमा जुट्ने उनले बताए ।

केदारले आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए ।उनले दश वर्षमुनिका बालबालिकाका लागि विशिष्टिकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया