अनधिकृत संरचना हटाउने अभियान : कोटेश्वरमा चल्यो महानगरको डोजर
काठमाडौं – अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा डोजर चलाएको छ । महानगरले फुटपाथ मिचेर अवैध रुपमा निर्माण गरिएको टहरा, होर्डिङ बोर्ड, होटल लगायतका संरचना हटाउन डोजर चलाएको हो ।
अनधिकृत संरचना हटाउन ठूलो संख्यामा महानगरका प्रहरी परिचालन गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । महानगरले जारी गरेको ३५ दिने सूचना बेवास्ता गरेपछि संरचना हटाउन आफूहरु बाध्य भएको महानगरपालिकाले जनाएको छ।
महानगरले ३२ वटै वडामा अनधिकृत संरचना हटाउने क्रम जारी रहने बताएको छ । यसअघि बानेश्वर, त्रिपुरेश्वर, न्युरोड, लगायतका क्षेत्रका अनधिकृत संरचना महानगरले हटाइसकेको छ । अनधिकृत संरचना हटाउने काम सँगसँगै निरन्तर अनुगमन पनि हुने महानगरले बताएको छ।