एयर इन्डियाका कर्मचारीद्वारा हडताल फिर्ता
काठमाडाैं – भारतको एयर इन्डियाको विमान सेवाका कर्मचारीले हडताल फिर्ता लिएका छन् । यसले उडानमा भइरहेको अवरोध हटेको र उडान सेवा नियमित सुरु भएको एयर इन्डियाले जनाएको छ ।
यसअघि कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि बुधवार र बिहीवार दुई दिन लगातार उडानमा अवरोध भएको थियो । वार्ता र छलफलपछि चालक दलका सदस्यले आफ्नो विरोध अन्त्य गरेको श्रम कानून कार्यान्वयनको निरीक्षण गर्ने सरकारी निकाय भारतीय श्रम आयोगले जनाएको छ ।
त्यस्तै एयरलाइन्सले यसअघि बर्खास्त गरेका २० भन्दा धेरै कर्मचारीलाई काममा फर्काइएको छ । आयोगले कर्मचारीका मागबारे थप छलफल गर्न आउँदो मे २८ तारिखमा अर्को बैठक गर्न पनि सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऋणमा डुबेपछि सन् २०२२ मा भारतीय ध्वजावाहक विमान सेवा टाटा समूहको स्वामित्वमा पुगेको थियो । एजेन्सी