श्रीलंकामा प्रदर्शनकारी विरुद्ध सैनिक बल प्रयोग, कयौं घाइते


काेलम्बाे – श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारी विरुद्ध सेनाले बल प्रयोग गरेकाे छ । सेनाले (बिहीबार–शुक्रबार) मध्यरातमा संसद भवन अगाडि पाल टाँगेर बसेका प्रदर्शनकारीमाथि बल प्रयोग गरेको हाे। यस क्रममा केही आन्दोलनकारी घाइते समेत भएका छन् ।

सञ्चारमाध्यमका अनुसार २ पत्रकारसहित ९ जना पक्राउ परेका छन् ।  देशका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार सपथ लिएपछि सरकार विरोधी प्रदर्शनकारी विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए ।

विक्रमासिङ्घेको चेतावनीको केही घण्टापछि सेनाले कारबाहीको योजना बनाएर राति अबेरसम्म कार्यान्वयन गरेको थियो । बिहीबार रनिलको सपथ ग्रहण समारोहको समय र त्यसपछि पनि उनीविरुद्ध नाराबाजी भएको थियो ।

पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको बहिर्गमनको मुख्य माग लिएर सडकमा उत्रिएका आन्दोलनकारीहरु राजापाक्षको राजीनामा पछि पनि घर फर्किएका छैनन् । श्रीलंकाका संगठनहरूले नयाँ राष्ट्रपति रनिल विक्रमासिंघेले पनि राजिनामा दिनुपर्ने माग राखेका छन् ।

मानवअधिकार आयोगले सेनाको प्रदर्शनकारीमाथिको व्यवहारलाई क्रुर भनेको छ । उक्त घटनामा कैयौं घाइते भएका छन् भने दुई पत्रकार बेपत्ता छन् ।

प्रतिक्रिया