पाकिस्तानमा पीठोको संकट

इस्लामाबाद – पाकिस्तानमा गहुँ र पीठोको मूल्य बढ‍्ने देखिएको छ। दिनप्रतिदिन मंहगी बढ्दै गएपछि सर्वसाधारणहरु मर्कामा परेका छन्। तथ्यांक संस्थानका अनुसार मंसिरको अन्तिम सातामा पिठोको मूल्य तीन प्रतिशतसम्म बढेको थियो। यो हप्ता २० केजी पिठोको मूल्य दुई सय रुपैयाँले वृद्धि भएको छ।

कृषि प्रधान देश भनिए पनि पछिल्लो दुई वर्षयता पाकिस्तान आफ्नो आवश्यकता पूरा गर्न गहुँ आयात गर्न बाध्य छ। गहुँ पाकिस्तानको आहारको महत्वपूर्ण भाग हो र प्रत्येक पाकिस्तानीले वार्षिक औसत १२४ किलोग्राम गहुँ खपत गर्दछन्।

मुसद्धिक अब्बास इस्लामावादको रिहायसी क्षेत्रमा जी -१० तन्दुर चलाउँछन्। उनले पिठोसँगै बिजुली,ग्यास र अत्यावश्यक सामानको मूल्य बढेको बीबीसीलाई बताएका छन्।

उनले दुई कामदारको तलबबाहेक पसलको १५ हजार भाडा र बिजुली र ग्यासको बिल छुट्टाछुट्टै तिर्ने गरेको बताए। उनले भने,’दिनप्रतिदिन पिठोको मूल्य बढिरहेको छ। यस्तो अवस्थामा २५ रुपैयाँको रोटी बेचेर घरधान्न मुस्किल भइरहेको छ।’

गत वर्ष मुलुकमा दुई करोड २८ लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो। तर यो उत्पादन आवश्यकभन्दा कम भएपछि पाकिस्तानले अन्य मुलुकबाट २० लाख टन गहुँ आयात गरेको थियो।

चालु आर्थिक वर्षमा २ करोड २९ लाख मेट्रिक टन गहुँ उत्पादनको लक्ष्य राखिएकोमा २ करोड २६ लाख मेट्रिक टनसम्म उत्पादन हुने अनुमान गरिएको छ। मुलुकमा तीन करोड मेट्रिक टन खपत हुने गरेको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *