रुसी राष्ट्रपति पुटिन आफ्नो सेनाले कब्जा गरेको सहर मारिउपोल भ्रमणमा


काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले कब्जा गरेको युक्रेनी बन्दरगाह सहर मारिउपोलको भ्रमण गरेका छन् । रुसी राज्य मिडियाले प्रकाशित गरेको आधिकारिक भिडियोमा पुटिनले रातिको समयमा सडकमा कार चलाएको र त्यसपछि कन्सर्ट हलको भ्रमण गरेको देखिन्छ ।

नयाँ कब्जा गरिएको सहरमा पुटिनको यो पहिलो भ्रमण ठानिएको छ । रुसी समाचार एजेन्सी तासले पुटिन हेलिकप्टरमार्फत् त्यहाँ गएको र केही स्थानीय मानिसहरूलाई भेटेको जनाएको छ ।

भिडियोमा स्थानीय अधिकारीहरूले पुटिनलाई युद्धले भत्किएको सहर कसरी पुनर्निर्माण भइरहेको छ भन्नेबारे बताइरहेको सुनिन्छ । युक्रेन युद्धका क्रममा भएको एक भीषण द्धन्द्धमा परेको मारिउपोल विगत दश महिनादेखि रुसले नियन्त्रणमा ल्याएको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसको अर्थ पुटिन अब आईसीसीका सदस्य १२३ राष्ट्रमा पाइला टेके पक्राउ पर्न सक्छन् । यसअघि पुटिनले पनि पूर्व घोषणा बिना नै शनिबार सन् २०१४ मा रुसले कब्जा गरेको नवौं वार्षिकोत्सवको अवसरमा क्राइमियाको भ्रमण गरेका थिए । बीबीसी

प्रतिक्रिया