आजदेखि चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज दिइँदै, यी हुन् उपत्यकाका ५० खोप केन्द्र


काठमाडौं – काठमाडौं उपत्यकामा आज (आइतबार) देखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने उल्लेख छ ।

यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १–२ वटा खोप केन्द्र तय गरेको छ। सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले ३ गते, चैत ३१ र वैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन् ।

यस्तै, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते , बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० गते र वैशाख १५ गते पहिलो डोज लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्ने जनाइएको छ ।

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यस पटक काठमाडौंमा करीब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको बताइएको छ । दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ ।

प्रतिक्रिया