आजदेखि नयाँ वर्ष २०८० शुरू, विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडाैं – आजदेखि नयाँ वर्ष २०८० शुरू भएको छ । आज विक्रम संवत् २ हजार ८० (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराई बताउँछन् ।

‘विक्रम ६० संवतसरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ,’ उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरू भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरू भएको ३ हजार ४४ वर्षपछि विक्रम संवत् शुरू भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरू हुने नयाँ संवतसर भने चैत ८ गतेदेखि नै शुरू भइसकेको समितिले जनाएको छ । चैत ८ गतेदेखि पिंगल नामको संवतसर शुरू भएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभाव हो ।

अहिले चलिरहेको पिंगल ५१औं संवतसर हो । यसअघि नल नामको संवतसर रहेको थियो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवतसर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् ।

प्रतिक्रिया