आजबाट अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर
काठमाडौं – काठमाडौं महानगरपालिकाले आजबाट अव्यवस्थित तार हटाउने भएको छ। आइतबार महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा साझेदार बीच भएको छलफलबाट सोमबारबाट काम थाल्ने निर्णय गरिएको हो।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम लगायत पक्षमा छलफल गर्दै बैठकले, पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ।
तार व्यवस्थापनमा सरकार गम्भीर नभएपछि महानगरले आफ्नै अधिकार प्रयोग गरी व्यवस्थित गर्न लागेको मेयर बालेन शाहले बताएका छन् ।
महानगर प्रहरी बलका प्रमुख पाण्डेकाअनुसार सोमबार बिहान माइती घर मण्डला र न्यूरोड गेटबाट व्यवस्थापनको काम थालिनेछ। यसमा नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौंउपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन्।
ती क्षेत्रमा सेवा प्रदायकले आफ्नो आफ्नो तारमा संकेत चिन्ह लगाउने, चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने बैठकले निर्णय गरेको छ।
सडक किनारामा गाडिएका विजुलीका पोलहरुमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह (ट्याग) लगाउन १५ दिनको समय दिएर काठमाडौं महानगरपालिकाले बैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो। सूचनासँगै टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाएको थियो।