उत्तर प्रदेश र विहारमा गर्मीले तीन दिनमा झण्डै सय मृत्यु


नयाँ दिल्ली – भारतमा गर्मीका कारण करिब १०० जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले बताएका छन् ।

गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो ।

उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, ुसबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको थियो । बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।

यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा ४०० जनालाई भर्ना गरिएको जनाइएको छ। गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए । जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिमबाट जोगाउन सरकारी अस्पतालमा पङ्खा,एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया