मनसुन प्रणाली देशभर फैलिँदै, प्रतिकूल मौसमले हवाई उडान प्रभावित


काठमाडाैं – नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ ।

देशको पूर्वी तथा मध्य भू-भागमा मनसुन प्रणालीको प्रभाव रहनुका साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

काठमाडौंमा साँझदेखि हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षा भएको छ । बदलीसँगै वर्षाका कारण सो क्षेत्रको उडान प्रभावित भएको जनाइएको छ ।

महाशाखको पछिल्लो विवरणमा आज सबैभन्दा बढी ताप्लेजुङ ४७, ओखलढुङ्गा ४०, धरान २२, पोखरा ३२ र जिरी २६ मिलिमिटर वर्षा मापन गरिएको छ । नेपालमा यस वर्षको मनसुन प्रणाली गत जेठ ३१ गतेदेखि नेपालको पूर्वी भाग भएर भित्रिएको हो ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको छ ।

विशेषगरी देशका पश्चिमी भेगका विमानस्थलमा उडान प्रभावित भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले इनरुट वेदरका कारण पोखरा, भरतपुर भैरहवालगायत गन्तव्यको उडान डिले भएको छ । आज तुुम्लिङटार विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन ।

प्रतिक्रिया