पशुपतिनाथमा सुनको जलहरी जाँच्दै अख्तियार टोली


काठमाडौं – पशुपतिनाथमा चढाइएकाे सुनको जलहरी प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ परिसरमा पुगेको छ ।

अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोकेर सुरक्षा घेराभित्र जलहरीको नापजाँच गरिएको छ । मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले जलहरीको नापजाँच गरिरहेको हो ।

आयोगको टोलीमा खानी तथा भू-गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन्। पशुपतिनाथस्थित शिव लिङ्गको गर्भगृहलाई पूरै ढाक्ने गरी सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि छानबिनको जिम्मा अख्तियारमा पुगेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद भएको थियो ।

प्रतिक्रिया