सरकारले एनसेल शेयर प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने
काठमाडाैं – सरकारले एनसेल शेयर खरिद–बिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न छानबिन समिति बनाउने भएको छ ।
मङ्गलवार बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा प्रकाशित खबरप्रति सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रिपरिषद्ले अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले बताइन्।
मन्त्री शर्माले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा एनसेल शेयर खरिद–बिक्री भएको बताइन् ।
मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्यूनीकरण तथा सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने उनको ठम्याइ छ ।