सुक्खा पहिरोका कारण बागलुङ-गुल्मी सडक अवरूद्ध


बागलुङ – सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ ।  बागलुङ र गुल्मीको सीमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो ।

पहिरोले बागलुङ-गृल्मीखण्डअन्तर्गत मालढुङ्गा-अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ ।

काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।

‘दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ,’ उनले भने, ‘ढुङ्गा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन।’ पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।

प्रतिक्रिया