आज साउन १५, खीर खाएर मनाइँदै


काठमाडाैं – आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरू बताउँछन् ।

चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने चिकित्सकहरु बताउँछन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया