यी १२ वाणिज्य बैंकहरुले घटाए ब्याजदर

सिटिजन्स र प्राइमको ब्याजदर ब


काठमाडाैं – वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६ दशमलव ४९ प्रतिशतविन्दु रहेको छ । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् ।

यो साउन महिनाको तुलनामा शून्य दशमलव २३ प्रतिशतविन्दु कम हो । साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६ दशमलव ७२ प्रतिशतबिन्दु थियो । त्यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा शून्य दशमलव २४ प्रतिशतविन्दु घटेको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये सिटिजन्स र प्राइमले मात्र ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत राखेका छन् भने अरु १२ बैंकले ब्याजदर घटाएका छन् ।

निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबी बैंकले ७ दशमलव ४१ प्रतिशत दिने भएका छन् । यी बैंकले साउनको तुलनामा ब्याजदर शून्य दशमलव १२ प्रतिशतविन्दुले घटाएका छन् । हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भएका छन् ।

यस्तै नेपाल बैंकले मुद्दती निक्षेपमा सबैभन्दा कम ५ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४ दशमलव ९० प्रतिशत र व्यक्तिगततर्फ ६ दशमलव २० प्रतिशत ब्याजदर कायम गरेको छ ।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव २५ प्रतिशत र संस्थागतर्फ ५ दशमलव २५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यही ब्याजदर दिएको थियो ।

प्रतिक्रिया