सामान्य बन्दै जनजीवन, धेरै ठाउँमा हट्यो कर्फ्यु र निषेधाज्ञा
काठमाडाैं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै राजनीतिक अन्योल हटेको छ । जनजीवन बिस्तारै सामान्य हुन थालेको छ ।
मङ्गलबारको हिंसात्मक प्रदर्शनपछि नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता अनुसार निर्णय गर्न थालेका छन् । काठमाडाैंसहित धेरै ठाउँमा आज कर्फ्यु र निषेधाज्ञा छैन ।
सैनिक जनसम्पर्क निर्देशनालयले काठमाडाैं उपत्यकामा हिजो बेलुकी सात बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको थियो । त्यसपछि निर्देशनालयले थप निर्णय गरेको छैन ।
अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ । ललितपुर र भक्तपुर प्रशासनले आज बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरे पनि काठमाडाैंले केही निर्णय गरेको छैन ।
अरु केही जिल्लाहरुले पनि कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिएका छन् । केही जिल्लाहरुमा कर्फ्यु र निषेधाज्ञा कायमै रहे पनि जनजीवन सामान्य बन्दै गएको छ ।
अब कर्फ्यु र निषेधाज्ञा आवश्यक नभएकोले दैनिक कामधन्दा नियमित गर्नतर्फ प्रशासन लाग्नुपर्नेमा जनस्तरबाट माग भएको छ । हिजोदेखि लामोदूरीका गाडी पनि चल्न थालेका छन् । काठमाडाैं उपत्यकामा पनि आजदेखि केही सार्वजनिक गाडी गुडेका छन् ।
