प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेट


काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । आज मात्र काठमाडौंमा ओर्लिएका अमेरिकी उपविदेशमन्त्री बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग बर्माले आर्थिक विकास, महिला सशक्तिकरण, उर्जा क्षेत्रमा सहकार्यका सम्भावना लगायतका विषयमा कुरा गरेका हुन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा चासो राखेका थिए ।

भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने अमेरिकी दूतावासले जनाएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्चस्तरिय भ्रमण हो ।

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आएर फर्किएको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौं आइपुगेका हुन् । नेपाल भ्रमण सकेर अमेरिकी उपविदेशमन्त्री बर्मा भोलि नै भारततर्फ लाग्ने जनाइएको छ ।

प्रतिक्रिया