रुसी आक्रमणमा युक्रेनमा सैनिकसहित ५१ जनाको मृत्यु


काठमाडाैं – युक्रेनको पोल्टाभामा रुसबाट भएको पछिल्लो मिसाइल आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही सैनिकसमेत रहेका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणमा दुई सय ७१ जना घाइते भएका विवरण यूक्रेनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । त्यहाँ सैन्य तालिम केन्द्र र नजिकै रहेको अस्पतालमा आक्रमण भएको थियो । उद्धार टोलीले २५ जनाको उद्धार गरेको र तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको उल्लेख छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने प्रतिक्रिया दिनुभएको छ । तर रुसले आक्रमणको बारेमा कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।

पोल्टाभा शहर युक्रेनको राजधानी किएभबाट झन्डै तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा पर्छ । रुसको सीमा नजिकै रहेको यो शहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभबीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

रुस–युक्रेन युद्धको नौ सय दिनभन्दा पनि धेरै भइसकेको छ । सन् २०२२ फेब्रुअरी २४ मा युद्ध शुरू भएपछि रुसी सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण मानिएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।

प्रतिक्रिया