पलेशालाई काठमाडौं महानगरले दियो पाँच लाख


काठमाडौं – काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा महानगरले पलेशालाई पाँच लाखसहित सम्मान गरेको हो ।

महानगरपालिकाले प्रशिक्षक रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको छ । पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ किलोमनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै काँस्य पदक जितेकी थिइन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

यसअघि काठमाडौं महानगरले काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्यलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया