चट्याङ लागेर बंगलादेशमा दुई सय ९७ जनाको ज्यान गयो


ढाका – बंगलादेशमा यस वर्ष चट्याङमा परी झण्डै तीन सय जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान छन् ।

यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण दुई सय ४२ पुरुष र ५५ महिला गरी दुई सय ९७ जनाको मृत्यु भएको हो ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी चट्याङबाट मृत्यु हुनेको संख्या सार्वजनिक गरेको हो । सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिस रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका बेला चट्याङ लागेको बताइएको छ । एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्युज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्यांक संकलन गरेको जनाएको छ ।

बंगलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्सेनि सयौंले ज्यान गुमाउने गरेको उक्त संस्थाले जनाएको छ । बंगलादेशले हालैका वर्षहरूमा चट्याङका कारण मृत्यु हुनेको संख्या बढेको र विज्ञहरूले यो अवस्थालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया