घट्यो २० वटा वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति ?


काठमाडौं – कात्तिक महिनाका लागि बैंकहरूले मुद्दती निक्षेप ब्याजदर सामान्य घटाएका छन् । २० वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा घटेको हो ।

असोजमा यी बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ । यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो ।सार्वजनिक सूचना अनुसार कात्तिकमा एउटा बैंक सानिमाले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ ।

त्यस्तै १० बैंकले यस्तो ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् ।

स्थिर राखेकामा ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ ।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ।

प्रतिक्रिया