२७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा नेप्से, नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९.४१ विन्दुमा पुगेको छ । आइतवार जलविद्युत् समूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशतले र बैंकिङ्कको दोस्रोमा २.०१ प्रतिशत बढेको छ ।
आइतवार जलविद्युत र बैंकिङ्ग समूहको परिसूचक सर्वाधिक बढेको बजारमा सेञ्चुरी कमर्सियल बैंक र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य उच्च दरमा बढेको छ । सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९६ प्रतिशतले बढेको हो छ भने अपर तामाकोशीको ९.९३ प्रतिशतले बढेको हो ।
सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. २९८ पुगेको छ भने अपर तामाकोशीको प्रतिकित्ता रू. ७४ ले बढेर अन्तिम मूल्य रु. ८१९ पुगेको छ ।
यस दिन सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीमा यी दुई कम्पनीसँगै युनाईडेड ईदी मर्दी आरबी हाइड्रोपावर, रिडी हाइड्रोपार र सिभिल बैंक रहेका छन् । युनाइटेड मर्दीको ७.२५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ४८८, रिडी हाइड्रोपावरको ६.२६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ५९४ र सिभिल बैंकको ६.०९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. २९६ पुगेको हो ।
आज २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर ८२ हजार ५५ पटक कारोबार हुदाँ रु. ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार बराबरको कारोबार भएको छ । यो कारोबार २२७ कम्पनीको व्यापारमा भएको हो । कुल कारोबारमा यस दिन सर्वाधिक हिस्सा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ४० करोड ७० लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो ।