विद्यार्थी सङ्गठनकाे माग सम्बाेधन, पेट्रोलियम पदार्थको मूल्य घट्यो १ रुपैयाँ

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ । बुधवार निगमले काठमाडौं(निगमको डिपो क्षेत्रको १५ किलोमिटर)परिसर भित्रका लागि नयाँ खुद्रा मूल्य क्रमशः रू. १२८ तथा रू. १११ प्रति लिटर कायम गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई केही समयदेखि विभिन्न विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् ।

नेपाल आयल निगम लिमिटेडका अनुसार मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिलको मागको सम्बन्धमा निरन्तरको छलफलपछि मूल्य घटाउने निष्कर्ष निकालिएको हो ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढी रहेको र सोको कारणले निगमको लागत बढी रहेको परिपक्ष्यमा निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु हुनेछ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले विश्वास लिएको छ आन्दोलनरत ५ विद्यार्थी सङ्गठनले निगमको यो निर्णय पश्चात् सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने निगमले विश्वास लिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *