कट्रिना विक्कीको विवाह : भने, ‘मनमा माया मात्रै’ (तस्बिर)


काठमाडौं – बलिउड फिल्म अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहिबार विवाहमा बन्धनमा बाँधिएका छन् । यी दुई बिहिबार राजस्थानस्थित सिक्स सेन्सेज होटलमा निकै धुमधामसँग विवाह गरे ।

यी दुईको विवाहमा अत्यधिक गोपनियता अपनाइँदै थियो । यद्यपि, प्रशासन र मिडियाको थुप्रै दिनदेखि यसमा अत्यधिक चासो थियो । बिहिबार कार्यक्रममा भाग लिनका लागि बलिउड उद्योग र थुप्रै स्थानबाट धेरैजना राजस्थानको सवाई माधोपुर पुगे ।

यो समारोहमा बलिउडका साथै व्यापारिक घराना र राजनीतिसँग जोडिएका हस्ती पनि समावेश भए । यद्यपि, यसमा समावेश हुनेहरुको नाम सार्वजनिक गरिएको भने छैन । मिडिया रिपोर्टका अनुसार विवाह समारोहमा समावेश हुनेहरुलाई यसको जानकारी सार्वजनिक नगर्न सल्लाह दिइयो ।

विवाह बुधबार भएपनि पुरा समारोहको सुरुवात ७ डिसेम्बरमा सङ्गीत कार्यक्रममार्फत् भएको थियो । मेहेन्दी ८ डिसेम्बरमा भएको थियो यसका लागि विश्वप्रसिद्ध सोजतको मेहेन्दी मगाइएको थियो ।

यसबारे सवाई माधोपुरका कलेक्टर राजेन्द्र किशनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘विवाहमा १२० पाहुना समावेश हुने जानकारी दिइएको छ र सातदेखि १० डिसेम्बरसम्म उनीहरुको विवाह कार्यक्रम हुने बताइएको छ ।’

यी दुवैले सामाजिक सञ्जालमार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया