वरिष्ठ गायक तथा संगीतकार योगश वैद्यको निधन


काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । पारिवारका अनुसार उनको बिहीबार राति निधन भएको हो । दिउँसो स्वास्थ्यमा केही समस्या देखिएपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारजनले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो ।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । उनी भाषा गीतसंगीतका लागि पनि चर्चित थिए ।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत गाएका थिए । २०२२ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ बोलको गीत उनले पहिलोपटक रेकर्ड गराएका थिए ।

करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । योगेशको आजै पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया