रुस-युक्रेन युद्ध रोक्न आग्रह गर्दै रुसी राजदूतावास अगाडि प्रदर्शन
काठमाडाैं – रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बुधबार मानवअधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्धन गर्न माग गर्दै नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी मानवअधिकारकर्मीहरूले ‘युक्रेनमाथि अतिक्रमण बन्द गर,’ ‘तत्काल सैनिक फिर्ता गर,’ ‘शान्ति प्रवर्धनमा जोड दिऔँ, युद्ध रोकौँ’लगायतका नारा लगाएका थिए । प्रदर्शनपछि मानवअधिकार तथा शान्ति समाजको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीहरूलाई बुझाइएको थियो ।
पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै त्यसको विश्वव्यापी विरोध भइरहेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका लुहान्स्क र दोनेत्स्क क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकासहितका पश्चिमा देशहरूले रुसको भूमिकाप्रति आपत्ति जनाउँदै आएका छन् ।