फिल्मी शैलीमा फेरि लुटियो सुनचाँदी व्यवसायीको घर


काठमाडौं – सिरहाको लहानमा एक सुनचाँदी व्यवसायीको हत्या गरेको घटना सेलाउन नपाउँदै सोमवार साँझ अर्का व्यवसायीको घर लुटिएकाे छ । हतियारधारी लुटेरा समूहले लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यवसायी राजेश शारडाको घरमा रहेको गरगहना लुटपाट गरेका हुन् ।

५/७ जनाको समुहमा आएका लुटेराहरु सोमवार करिब ७ बजे एक्कासी व्यवसायी शारडाको घरमा प्रवेश गरेको प्रहरीले जनाएको छ । रोक्ने प्रयास गर्दा बुवा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर कुटपिट गरे र लुटपाट गरी भागेको शारडाले बताए।

लुटेरा समूहको कुटपिटबाट शारडाका बुवा भागीरथ र श्रीमती सामान्य घाइते भएका छन् । उनी दुवैको लहान अस्पतालमा उपचार भएको छ ।लुटेरालाई चिन्न नसकेको र हल्ला गर्न खोज्दा पेस्तोल तेस्र्याएर मार्ने धम्की दिएकाले आफू चुप लाग्न बाध्य भएको उनले सुनाए ।

लुटेराले शारडाकै बा १० च ९३०२ नम्बरको जीप लिएर भागेका थिए । उक्त जीप मध्यरातमै फेला परेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दाहालले बताए। खोजतलास जारी राखेकै बेला स्थानीयले बेल्हामा जीप छाडेर लुटेरा भागेको खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । राती नै जीप लहान लगिएको छ ।

जीपमा लुटपाट गरिएको सुनचाँदीका गहना र नगद रुपैया पनि भेटिएको प्रहरीले जनाएको छ । यद्दपी लुटपाट गरिएका सबै गरगहना र नगद रहेको कुरा प्रहरीले सार्वजनिक गरेको छैन ।

लुटपाट भएको शारडाको घर इलाका प्रहरी कार्यालय लहानदेखि मात्र ३ किलोमिटर दूरीमा छ । तर लुटेरा फरार भएपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

शनिवार राति मात्रै लहान नगरपालिका २३ मा सुनचाँदी व्यवसायी ४० बर्षीय प्रदीप विश्वकर्माको लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । एकपछि अर्को अपराधिक घटना घट्न थालेपछि लहानका व्यवसायी र सर्वसधारण त्रसित बनेका छन् ।

प्रतिक्रिया