जाेरपाटीमा बोरिङ खन्ने क्रममा विस्फोट, निस्कियाे लेदो र मिथेन ग्यास


काठमाडाैं – बोरिङ खन्ने क्रममा काठमाडाैंकाे जोरपाटीस्थित सन्तवीर लामाको घरमा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।

बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागका पृथ्वीलाल श्रेष्ठले जानकारी दिए ।

योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको उनले बताए । लामो समयदेखि ग्यास भण्डारण भएर बसेको ठाउँमा खन्दा यस्तो निस्कने गरेको विभिन्न अध्ययनले देखाएका उनको भनाइ छ ।

जमिनभित्रै जम्मा भएर बसेको अवस्थामा मानिसले खन्दा एक्कासी विस्फोट भएको श्रेष्ठले बताए । आज मङ्गलवार बिहान ग्यास निस्किँदा छेउछाउका घरहरू हिलाम्मे भएका थिए । अझै ग्यास निस्किरहेकाले घटनास्थल वरपर सुरक्षा दिएर मानिसहरूलाई त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया