झण्डै साँढे ७ अर्बले बढ्यो नागरिक उड्डयन प्राधिकरणको आम्दानी
काठमाडाैं – नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ। प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै ७ अर्ब ४४ करोड ७१ लाख आम्दानी गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्क बापतको ल्याण्डिङ पार्किङ, नेभिगेसन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्ष ६ अर्ब ६८ करोड २९ लाख आम्दानी प्रक्षेपण गरेकोमा ७ अर्ब ४४ करोड ७१ लाख आम्दानी भएको छ ।
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष जम्मा ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा २१ अर्ब ३२ करोड १ लाख रुपैयाँ खर्च भएको जनाएको छ । यसमध्ये वित्तीय व्यवस्थापनमा ७ अर्ब ५३ करोड ३८ लाख विनियोजन गरिएकोमा ४ अर्ब ६९ करोड ७४ लाख खर्च भएको छ । कार्यालय सञ्चालनतर्फ ४ अर्ब १० करोड ८१ लाख विनियोजन भएकोमा ३ अर्ब २६ करोड २७ लाख खर्च भएको छ ।
प्राधिकरणले समग्रमा गएको आवमा वित्तीय प्रगति ४८.८१ प्रतिशत गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको आव २०७९/८० को बजेट तथा कार्यक्रममा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरणको संस्थागत सुधार, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास र गैरउडान आय वृद्धिलाई प्राथमिकता दिएको छ ।
प्राधिकरणले चालू आव २०७९/८० का लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो आव ४३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन भएको थियो । पर्यटन पुनरुत्थानका लागि प्राधिकरणले चालू आवभित्र गरिने कामको शुरूआत गरिसकेको जनाएको छ ।
त्यसका लागि नीतिगत सुधार, पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र उच्चतम प्रविधिको उपयोग गर्दै सेवालाई सुदृढीकरण बनाइनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन व्यवस्थापन तथा सौन्दर्यकरण लगायत कार्य गरिने प्राधिकरणको बजेट तथा कार्यक्रममा उल्लेख छ ।