काठमाडाैंमा आजदेखि मादक पदार्थ सेवन र बिक्रीमा रोक

काठमाडाैं – जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आजदेखि जिल्लामा मादक पदार्थ बिक्री वितरण र खानमा रोक लगाएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए ।
ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा यस सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
यस्तै प्रशासन कार्यालय काठमाण्डौले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त गाडीबाहेक आन्तरिक रुपमा सबै किसिमका गाडी आवतजावतमा रोक लगाइएको जानकारी गराएको छ ।
प्रशासनले आज र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि जानकारी गराएको छ ।