लुक्दै भागिरहेका इटालीका माफिया बोस डेनारो पक्राउ


काठमाडाैं – इटालीको मोस्ट वान्टेड माफिया बोस मटेओ मेससिना डेनारोलाई प्रहरीले पक्राउ गरेको छ। ३० वर्षदेखि भागिरहेका उनलाई सिसीलीबाट पक्राउ गरिएको हो। सिसीलीको एक निजी क्लिनिकबाट उनलाई पक्राउ गरिएको हो।

उनी कोसा नोस्ट्रा माफिकाका बोस हुन्। प्रहरीले उनलाई पक्राउ गरि गोप्य स्थानमा लगेको छ। उनलाई पक्राउ गर्न १०० जना सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ। डेनारोलाई पक्राउ गरि लगिँदै गर्दा सडकमा भेला भएका मानिसहरुले ताली बजाउँदै प्रहरीलाई धन्यवाद व्यक्त गरेका थिए।

कयौं हत्याहरुमा संलग्न भएको भन्दै उनलाई सन् २००२ मा जन्मकैदको सजाय सुनाइएको थियो। यस्तै, उनी गैरकानुनी रुपमा फोहोर व्यवस्थापन, मुद्रा अपचलन र लागू औषध तस्करीमा पनि संलग्न रहेका थिए।

सन् १९९३ देखि उनलाई भगौडा घोषित गरिएको थियो। गुप्त स्थानमा बसेर उनले अझै पनि आफ्नो गिरोहका मानिसहरुलाई निर्देशन दिइरहने गर्थे। दशकौंदेखि इटाली प्रहरीले उनको खोजी गरिरहेको थियो। डेनारोको नजिकका मानिसहरुको निगरानीका साथै उनीसँग जोडिएका व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको थियो। यस्तै, डेनारोका विभिन्न व्यवसायहरु पनि प्रहरीले बन्द गराएको थियो।

उनलाई खोज्न प्रहरीले डेनारोको पुरानो फोटोहरुलाई ‘डिजिटल कम्पोजिट’ गरि ‘रिकन्सट्रक्ट’ गरेका थिए। यसैको आधारमा प्रहरीले डेनारोलाई खोजिरहेको थियो। डेनारो पक्राउ परेपछि राजनीतिक दलबाट प्रहरीको प्रशंसा भइरहेको छ। इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले पनि प्रहरीलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया