फागुनमा राष्ट्रपतिको निर्वाचन : १३ गते मनोनयन दर्ता, २५ मा मतदान
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्ति अनुसार आगामी २५ फागुनमा राष्ट्रपतिको र चैत्र ३ मा उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।
दुवै पदका लागि तोकिएको दिन तोकिएको मतदान केन्द्रमा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने उनले बताए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी उक्त जानकारी नेपाल सरकारलाई दिनुपर्ने तथा सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउने आयोगले जनाएको छ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तथा उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।