कतारले मृत्युदण्ड सुनाएको आठ जनाको सजाय घटाएको भारतको दाबी


काठमाडाैं – कतारको दोहामा पक्राउ परेका आफ्ना आठ जना नागरिकलाई त्यहाँको अदालतले सुनाएको मृत्युदण्डको सजाय घटाएको भारतले दाबी गरेको छ । जासुसी गरेको आरोपमा गएको अगस्टमा आठ जना भारतीय पक्राउ परेका थिए ।

उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् । भारतको विदेश मन्त्रालयले उनीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय घटाएको जनाए पनि थप विवरण र अवस्था उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेहरूलाई इजरायलका लागि जासुसी गरेको आरोपमा कतारको अदालतले गएको अक्टोबरमा मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै भारतले आफू स्तब्ध भएको प्रतिक्रिया जनाएको थियो ।

कतारले यो विषयमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक भएको छैन । भारतले मुद्दाको गोपनीयता र संवेदनशीलताका कारण थप टिप्पणी गर्नु उचित नरहेको जनाएको छ ।

पक्राउ पर्नेहरू कतारको अल दहरा कम्पनीमा सन् २०२२ को अक्टोबरदेखि कार्यरत थिए ।

प्रतिक्रिया