तालिबानी त्रासमा रहेका अफगान महिला भन्छन्: अब हाम्रो हालत के होला ?

काबुल – अफगानिस्तानमा चरमपन्थी संगठन तालिबानले सत्ता कब्जा गरेपछि आफूले देशका जनताका लागि केही गर्ने र जीवनस्तर सुधार्ने आवश्वास उसले दिएको छ । तर सामाजिक सञ्जालमा अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छाडेर भाग्नेको भागदौड देख्दा त्यहाँको अवस्था के छ भन्ने प्रस्ट पार्छ ।

महिला र बालबालिकाको चिन्ता
तालिबानले शासन सुरु गरेपछि अफगानिस्तानका महिला तथा बालबालिकाको अवस्था कस्तो होला ? यस विषयमा पनि अहिले व्यापक चिन्ताा प्रकट र बहस भइरहेका छन् ।

महिला अधिकारका क्षेत्रमा काम गरिरहेकी एवं अफगानिस्तानको निर्वाचन आयोगकी पूर्व सदस्य जारमीना काकरले बीबीसीसँग भनेकी छन्, ‘अचेल मलाई कोही मलाई सोध्छन्– तपाईं कस्तो हुनुहुन्छ ? यो प्रश्नले मेरा आँखामा आँशु आउँछ र पनि भन्छु– ठीक छु ।

तर वास्तवमा हाम्रो अवस्था ठीक छैन । हामी त्यस्ता दुःखी चरा जस्ता भएका छौं, जसका आँखा धुलोले ढाकेका छन् र घरबार उजाड बनेको छ । हामी केही गर्न सक्दैनौं, केवल टुलुटुलु हेर्न सक्छौं, चिच्याउन सक्छौं ।’

वाट्सएपमा बीबीसीलाई दिएको जवाफमा उनले अफगानिस्तानका सबै प्रान्त, खासगरी राजधानी काबुलका मानिस आफ्नो भविष्यबारे चिन्तामा रहेको बताइन् । उनले भनिन्, ‘यहाँ सबैभन्दा बढी महिला र किशोर–किशोरी डराएका छन्, यस्ता युवा जो पछिल्ला २० वर्षमा जन्मे, हुर्के– उनीहरू तालिबानसँग त्रसित छन् । काबुलमा रहेका महिला डरका कारण यहाँबाट भागिरहेका छन् ।

अफगानिस्तनका महिलाले विगतमा तालिबानको शासन हुँदा भोगको अत्याचार र हिंसा भुलेका छैनन् ।’ अफगानिस्तानमा महिलाको अवस्थाबारे सामाजिक सञ्जालमा मानिसले चिन्ता प्रकट गरिरहेका छन् । तर बीबीसीले राखेको जिज्ञासामा तालिबानका प्रवक्ता सुहैल शाहिनले भनेका छन्, ‘महिला तथा युवा डराउन जरुरी छैन ।’

उनले भने, ‘हामी उनीहरूको इज्जत, सम्पत्ति, काम र पढ्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छौं । यसकारण उनीहरूले चिन्ता गर्न जरुरी छैन । उनीहरूले काम गर्न तथा पढ्न पहिलेभन्दा राम्रो वातावरण पाउँछन् ।’ यसरी तालिबानले आफ्ना पक्षबाट ढुक्क रहन आश्वासन दिइरहेको भए पनि अफगानिस्तानका महिलाको एक वर्गले भने अन्तर्राष्ट्रिय समुदायले आफूहरूलाई सहयोग गर्नुपर्ने माग गरिरहेको छ । सांसद मरियम समा काबुलबाट बाहिर निस्किसकेकी छन्, तर त्यहीं रहेका आफ्ना परिवारप्रति चिन्तित छन् ।

उनी भन्छिन्, ‘महिला र किशोरी निकै त्रसित छन्। उनीहरूको कुनै अस्तित्व रहन्छ/रहँदैन, उनीहरूले रोजगारी गर्न-पढ्न पाउँछन्-पाउँदैनन् ? हामी हाम्रो देश गुमाइरहेका छौं। यो निकै दुःखदायी कुरा हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *