इजरायली जेलमा रहेकी प्यालेस्टिनी राजनीतिज्ञ खालिदा रिहा


काठमाडौं – इजरायलीय जेलमा रहेकी प्यालेस्टिनी राजनीतिज्ञ तथा नागरिक अभियन्ता खालिदा जरारलाई दुई वर्षपछि आइतबार रिहा भएकी छन् । ५८ वर्षीया जरार प्यालेस्टिनी लेजिस्लेटिभ काउन्सिलकी सदस्य समेत रहेकी वामपन्थी नेता हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नेता जरारलाई इजरायली अधिकारीहरूले आइतबार दिउँसो रिहा गरेर जेनिन सहरको पश्चिम चेक पोइन्ट सलेममा छाडिदिएका हुन् । जरारकी ३१ वर्षीया छोरी सुहाको स्वास्थ्य समस्याका कारण गत जुलाईमा मृत्यु भएको थियो ।

आफ्नी आमाको रिहाइका लागि सार्वजनिक अपिल गरिरहेकी सुहाको रमाल्लाहमा निधन भएको हो । इजरायल सरकारले जरारलाई छोरीको मृत्यु संस्कारमा समेत जान दिएन ।

अवैध रूपमा संगठन बनाएर राजनीति गरेको आरोपमा जरारलाई इजरायली सेनाले सन् २०१९ अक्टोबर ३१ मा घरबाटै पक्राउ गरेको थियो । इजरायलले प्यालेस्टाइनका झण्डै ४ सय वटा राजनीतिक संगठनलाई अवैध घोषणा गरेको छ । एजेन्सी

प्रतिक्रिया