रुस र युक्रेनबीच आज दोस्रो चरणको वार्ता हुने
काठमाडाैं – रुस र युक्रेनबीच आज बुधवार दोस्रो चरणको वार्ता हुने भएको छ । यसअघि अस्ति साेमवार भएको पहिलो चरणको वार्ताबाट कुनै निष्कर्ष निस्कन सकेको थिएन । तर शान्ति वार्तालाई कायमै राख्नका लागि आज अर्को चरणको छलफल हुन गइरहेको रुसको समाचार संस्था तासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
‘हाम्रो प्रतिनिधिमण्डल वार्तालाई जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभएकाे छ । वार्तामा रुसको नेतृत्व राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने उल्लेख छ । तर दुवै पक्ष आफ्नो अडानमै रहेकाले यो वार्ताबाट पनि धेरै कुराको परिवर्तनको अपेक्षा नरहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेष्टोभिचले बताएको खबरमा उल्लेख छ ।
रुसले युद्धविराम गरेर आफ्नो भूमिबाट सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान छ, युक्रेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली युनियनको सदस्य नबन्ने कुराको ग्यारेन्टी गरेमा मात्रै आक्रमण रोक्ने रुसले अडान लिएको छ ।
यसैबीच रुसले युक्रेनकाे दाेस्राे ठूलाे सहर खार्किभमा लगातार आक्रमण गरिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छन् । त्यहाँका कैँयाैँ सरकारी भवनहरूलाई निसाना बनाइएकाे र खार्किभमा रहेकाे नगर परिषद्काे भवनमा रुसले क्रुज मिसाइल प्रहार गरेकाे बीबीसीले जनाएकाे छ । बीबीसी