इन्स्टाग्राम प्रतिस्थापन गर्दै रूसले ल्यायाे ‘रोसग्राम’


काठमाडौं – रूस सरकारले इन्स्टाग्राम प्रतिबन्धकाे एक हप्ता नबित्दै  ‘रोसग्राम’ बजारमा ल्याउँदै छ। रुसले केही दिनअघि मात्रै सामाजिक सञ्जाल इन्स्टाग्रामलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको हाे । यसको लगत्तै रूसका प्रविधि उद्यमीले नयाँ फोटो शेयरिङ एप सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

रुसमा इन्स्टाग्रामका आठ करोड प्रयोगकर्ता थिए । विशेषगरी त्यहाँका कम्पनी एवं अन्य व्यवसायीले इन्स्टाग्रामबाटै आफ्ना वस्तु तथा सेवाको विज्ञापन तथा प्रवर्दन, बिक्री वितरण गर्नुका साथै ग्राहकसँग सञ्चार गर्दै आएका थिए ।

इन्स्टाग्राम प्रतिबन्धमा परेपछि त्यसको ठाउँ भर्न रूसका स्थानीय प्रविधि उद्यमीहरूले वैकल्पिक फोटो शेयरिङ एप ल्याउन लागेका हुन् । मार्च २८ मा सार्वजनिक हुने यो एपको नाम रोसग्राम राखिने भएको छ ।

यसअघि इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटाले केही देशका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई युक्रेनमाथिको आक्रमणको विषयलाई लिएर रुसी सैनिक विरुद्ध हिंसामा उत्रिनका लागि आह्वान गर्न छुट दिने निर्णय गरेसँगै रुसले इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया