क्यानडाले रुसी तेल र ग्यास नकिन्ने देशहरुलाई इन्धन उपलव्ध गर्ने

टाेरन्टाे – क्यानडाले विश्वव्यापी ऊर्जा संकट समाधान गर्न थप तेल, ग्यास र युरेनियम उपलब्ध गराउन तयार रहेको जनाएको छ। क्यानडाका ऊर्जामन्त्रीले रुसी तेल र ग्यासको विकल्पमा धेरै देशलाई इन्धन सहयोग गर्न तयार रहेको बताएका हुन्।

क्यानडा विश्वको चौथो ठूलो तेल उत्पादक देश हो। क्यानडाले थप २० लाख ब्यारेल तेल उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ। प्राकृतिक स्रोतमन्त्री जोनाथन विल्किन्सनले क्यानडा पनि थप १० लाख ब्यारेल प्राकृतिक ग्यास निर्यात गर्न तयार बताएका छन्।

यद्यपि, रुसमाथिको प्रतिबन्धका कारण आगामी महिनादेखि बजारमा ३० लाख ब्यारेल तेल र ग्यासको अभाव हुनेछ। क्यानाडाको तेल निर्यात गर्ने क्षमता सीमित छ। किनभने यसका पाइपलाइनहरु हाल आफ्नो पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। तर, विल्किन्सनले अमेरिकाबाट तेल पठाउने विकल्प खुला रहेको बताएका छन्।

उता क्यानडाको सबैभन्दा ठूलो पाइपलाइन कम्पनी एनब्रिजले उत्तर अमेरिका र युरोपमा ऊर्जा आपूर्ति बढाउन सबै सम्भव कदम चाल्न तयार रहेको जनाएको छ। युक्रेन युद्धका कारण धेरै देशले रुसी ग्यास र तेलमाथि प्रतिबन्ध लगाएका छन्। जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *