आज शेयर बजारमा साँढे ७ अंकले गिरावट
काठमाडौं – शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक शुक्रबार ७ दशमलव ५६ अंकले घट्दा १९७१ दशमलव ३८ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६९ अंकले घटेर ३८१ दशमलव १४ विन्दुमा थामिएको छ ।
नेप्सेको अनुसार आज २२० कम्पनीको ७३ करोड ६३ लाख १२ हजार १५८ रुपैयाँको २३ लाख ५५ हजार कित्ता बराबरको शेयर खरिद विक्रि भएको हो । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत् र विकास बैंकको शेयर दोहोरो अङ्कले घटेको छ ।
समग्र बजार घटे पनि आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घट्यो ।
आज पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो । यसअघि सरकारले आइतवार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतवार बन्द गरेर शुक्रवार खोल्न थालेकोमा आइतवारको बिदा कटौती भएपछि शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टाका लागि मात्र शेयर बजार खुलाउन थालिएको हो ।