नेप्सेमा छ अंकको वृद्धि, १९ अर्बको कारोबार


काठमाडौं – साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार नौ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको छ ।

अघिल्लो दिन नेप्से सूचक २.११ अंकले बढ्दै दुई हजार नौ सय ६८ दशमलव ४४ विन्दुमा अडिएको थियो । बुधबार १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार कारोबार केही बढ्दै १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको भएको छ ।

आज सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख ८ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको मूल्य घटेको छ । तीन वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । आज बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक बढेको छ भने बाँकी अरू समूहेको उपसूचक ऋणात्मक भएका छन् ।

आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योतिविकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एसबीएल डिभेन्चरको मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।

प्रतिक्रिया