चीनको स्वास्थ्य आयोगले दैनिक कोरोना संक्रमणको तथ्यांक सार्वजनिक नगर्ने

चीन – चीनमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना संक्रमणको तथ्यांक दैनिक रुपमा सार्वजनिक नगर्ने भएको छ । विगत तीन वर्षदेखि देशमा दैनिक कोरोना संक्रमणको तथ्यांक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतबारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।

‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी मात्र प्रकाशित गर्नेछ,’ एनएचसीले एक विज्ञप्तिमा भनेको छ । परिवर्तनको कारण र सीडीसीले कोरोनासम्बन्धी जानकारी कतिपटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन ।

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *